काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको लागि सागर दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । भारतको लागि ड्यानीले १ गोल गरे । 
 
२४ औँ मिनेटमा गोल गर्दै ड्यानीले भारतलाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा सागरले गोल गरेर बराबरीमा ल्याए । उनेशले ५० औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गरे । सुवासले ६८ औँ मिनेटमा गोल गरेपछि नेपाल ३-१ अन्तरले विजयी भयो । 

नेपालले पहिलो खेलमा भुटानलाई २-१ अन्तरले हराएको थियो । लगातार दुई जितपछि ६ अंक जोडेर नेपाल समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा पुगको हो ।

यो हारपछि भारतले फाइनल प्रवेश गर्न बङ्गलादेशलाई पराजित गर्नु पर्ने भएको छ । शुक्रबार नै हुने दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका समुह ए को शीर्ष स्थानको लागि आमने सामने हुनेछन् ।