काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप २०२३ छनोट अन्तर्गतको खेलमा नेपाल भूटानसँग २–० गोलले पराजित भएको छ ।

समूहको पहिलो खेलमै नेपाल भूटानसँग पराजित हुन पुगेको हो ।

शनिबार राति बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल गर्न सफल भएको थियो ।

भूटानका लागि खेलको ३३ औं मिनेटमा सोनाम चोजाङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमै भूटानले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।

कर्मा टासी जाम्सोले भूटानका लागि अर्को गोल गरेका थिए । खेलको अन्त्यतिर नेपालका खेलाडीले रातो कार्ड खाँदै १० जनामा सिमित भएको थियो ।

खेल अवधिभर नेपालले भूटानबिरुद्ध कुनै गोल गर्न सकेन। एएफसी यू–२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् ।

एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । उक्त खेल खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ ।