काठमाडौं । एसिया कप क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ ।
 
दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
 
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
 
यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।
 
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ रन बनाए ।

वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १र१ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।