काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् ।

फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।

प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरको टोलीका लागि यो कठिन हुनेछ । ‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन । तर, उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ ।’ पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

३१ वर्षीय नेयमारले यो सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल गरिसकेका छन् । लिग वानमा उनले २० खेलमा १३ गोल र ११ असिस्ट प्रदान गरेका छन् ।