विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ ।
दमक –४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो । कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए । अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा राईलाई भर्ना गरिएको अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा।रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको थियो ।
परिवारका सदस्यले थप उपचारका लागि शनिबार राति १२ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उपचारकै क्रममा आज बिहान महिलाको मृत्यु भएको जनाइएको छ ।
परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन् । चिकित्सकको लापरबाहीले घटना भएको भन्दै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका हुन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
अस्पतालमा आन्दोलन सुरु भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


















