काठमाडौंः कप्तान सन्दीप लामिछानेको कीर्तिमानी बलिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
यो जीतसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोड्द अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यससँगै उसको प्लेअफ (अन्तिम चारमा पर्ने) सम्भावना बलियो बनेको छ ।
उता, पोखरा ६ खेलबाट २ अंकमै सीमित रहँदै प्लेअफ दौडबाट बाहिरिएको छ । अन्तिम खेल खेल्नुअघि नै पोखराको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई १३२ रनमा समेट्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले ह्याट्रिकसमेत पूरा गरे । जारी सिजनको पहिलो ह्याट्रिक गर्ने क्रममा उनले १५ औं ओभरमा लगातार तीन बलमा युवराज सम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गरे ।
सन्दीप एनपिएल इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले एनपीएलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उत्कृष्ट बलिङ फिगरमा शाहब आलमपछि दोस्रो स्थानमा छन् ।
पोखराका अर्जुन कुमाल १ रनमा र कुशल भुर्तेल खाता नखोली आउट भए । दुवै विकेट सुरुवाती दुई ओभरभित्र गुमाउँदा पोखरा ११÷२ को अवस्थामा पुगेको थियो ।
त्यसपछि युवराज सम्रा र अर्जुन घर्तीले तेस्रो विकेटका लागि ३५ रन जोडेका थिए । घर्ती ५ रनमा आउट भएपछि सम्राले सन्नी बिकेसँग चौथो विकेटका लागि ३० रनको साझेदारी गरे ।
सन्नीले १२ रन बनाए । रामेश मेन्डिस पनि खाता नखोली आउट भएपछि पोखरा ७६÷५ को कमजोर अवस्थामा पुगेको थियो ।
१३३ रनको लक्ष्य पछ्याएको विराटनगरले पनि राम्रो सुरुवात गर्न सकेन । इमरान शेख १० रन बनाएर दोस्रो ओभरको चौथो बलमा आउट भए । चरिथ असलंका पनि ३.१ ओभरमा खाता नखोली पेभेलियन फर्किएका थिए ।
विराटनगरले १९ रनमै दोस्रो विकेट गुमाएको थियो । त्यसपछि लोकेश बम र बासिर अहमदले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।
लोकेश २७ बलमा ३३ रन बनाएर आउट भए । उनले २ चौका र २ छक्का प्रहार गरे। त्यसपछि बासिर र एन्जेलो म्याथ्युजले चौथो विकेटका लागि २१ रन जोडेका थिए ।

















