काठमाडौं । नेपालमा डेंगुका बिरामी चार हजार नाघेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल चार हजार २८९ जनामा डेंगुका बिरामी छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार ७५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्। 

डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार ५४२, धादिङ ४०१, कास्की २०५, दार्चुला १९०, काठमाडौं ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् । 

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ। 

महाशाखाले डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।