कृश्मस बारे केटाकेटी मै पोखराको लेकसाइडमा सुनेको भए पनि कृश्मसको मेरो पहिलो प्रत्यक्ष अनुभव आज भन्दा ४० वर्ष अघि हङकङमा भएको थियो । त्यति बेला पनि चर्चमा पसेर होइन कृश्मस रुखका आडमा फोटो खिचेर र भेटे जतिलाई मेरि कृश्मस भनेर अनुभव गरेको हो । त्यस बेला देखि यो रमाइलो मौसममा धर्म बारे अनभिज्ञ भएर नै कृश्मस मनाउँदै आइयो । पछि बेलायत बसाइँ सरे पछि आफूले पढाएको विद्यालयमा chapel service हुन्थ्यो, हप्तै पिच्छे विद्यार्थीहरु सँग कृश्चियन भजन गाइयो, सुनियो । ती क्रियाकलापमा भाग नलिएको भए पनि हुन्थ्यो तर लिएर नै सिकिने हुनाले लीइयो । किताबी ज्ञान भन्दा प्रत्यक्ष अनुभव बढी प्रभावकारी हुन्छ नै ।

अहिले सम्म पनि कृश्मस मनाउने कार्य जारी नै छ । अहिले यो लेख्दै गर्दा कृश्मस पार्टी मै छु । हिजो अस्ति पनि साथीहरूसँग कृश्मस डिनर खाइयो । पर्सि कृश्मसका दिनमा पनि कृश्मस डिनर खान एक जना गोरा परिवारले बोलाएका छन् । उनीहरुको सोच अनुसार कृश्मसमा कोहि एक्लो नहोस् भन्ने छ । जसरी हामी दशैंमा केहि नहुनेलाइ समेत बोलाएर खुवाउँछौं । मेरा गोरा कृश्चियन साथीहरू पादरी देखि बिशप सम्म छन् । उनीहरु आफ्नो पेशामा कृश्चियानिटीको प्रवचन दिए पनि मसँग उदार वहस गर्न हिच्किचाउन्नन् किनकि उनीहरु प्राय अँग्रेजी र धर्म शास्त्रमा उच्च शिक्षा प्राप्त गरेका छन् । कति गैर श्वेत कृश्चियन साथीहरूसँग भने बोल्न अघि निकै सतर्क हुन पर्छ । उनीहरू बाइबलमा लेखेको शत प्रतिशत भएकै घटना हुन् भन्ने भ्रममा हुन्छन् र सो को विपरीत तर्क गरियो भने अत्यन्तै चिन्तित हुन्छन् ।
बेलायतका आदिवासी गोरा बिच चर्च जानेको संख्या बेस्सरी गिर्दो छ । फलस्वरूप कैयौं चर्च अहिले बन्द भएर आवासगृहमा परिणत भएका छन्  । बीस वर्ष अघि म मेरो ठाउँमा सर्दा आइतवारको चर्च कार्यक्रममा करिब दस पन्ध्र जना गोरा हुने चर्च अहिले कति बन्द भैसके भने कति अश्वेतले भरिभराउ छन् । त्यहाँ एउटा गुम्बा थपिएको छ । तिब्बती मूलको, बेल्जियम कि महिला त्यहाँ कि प्रमुख भिक्षुणी छिन् । अचेल लन्डन र बेलायतका प्राय ठाउँमा धार्मिक किसिमले कृश्मस कमै मनाइन्छ । प्राय मेलाको रुपमा मनाइन्छ । म झन् कृश्चियन नभएकाले धार्मिक तरिकाले मनाउने त कुरै भएन तर मेलाका रुपमा डिसेम्बर लागे देखि झन्डै नयाँ वर्ष सम्म मनाइन्छ। कसैलाई कृश्मसको शुभकामना दिंदैमा वा कसैबाट लिंदैमा तपाईंको धर्म बदलिएर कृश्चियन हुँदैन। यदि धर्ममा आस्था राख्नु हुन्छ भने सबै धर्म बारे गहिरो अध्ययन गरेर नै त्यसो गर्नु भयो होला। भलै कसैले कति स्वार्थका आडमा त कति पारिवारिक प्रभाव वा दवावले पनि आस्था राखिन्छ, म भने सबै धर्म प्रति श्रद्धा राख्छु, विश्वास भने त्यति छैन! Merry Xmas!