गछियाः ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, र्याली तथा सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा मोरङको सुन्दरहरैंचामा मनाइएको छ ।

हिजो नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघको सुन्दरहरैंचा अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा स्थानीय तहले सहकार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रदेश सांसद लोकप्रसाद संग्रौला, नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका सल्लाहकार देवराज तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सभाध्यक्ष याख्खाले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि समुदाय स्वयं सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कलाकार बबिना किराती, ‘द भ्वाइस किड्स’की फाइनलिस्ट कबिना राईलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, भेषभूषा, कला र परम्परा झल्काउने झाँकी तथा र्याली निकालिएको थियो ।