इटहरी । आज साउन महिनाको अन्तिम सोमबार । आज देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ ।

शिवको प्रिय महिना मानिने साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

सोमप्रदोष व्रतको संयोग
यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको छ । सोमबारको दिन त्रयोदशी तिथि परेमा सोमप्रदोष भनिन्छ । ‘प्रदोष’ भनेको सामान्यतः सूर्यास्तअघि वा पछिको विशेष समय हो । जुन शिवपूजाका लागि शुभ मानिन्छ ।

प्रदोषकालमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ । दूध, दही, घिउ, बेलपत्रले पूजा गर्दै पहेँलो वस्तु चढाएमा शुभ हुने विश्वास गरिन्छ ।