औसत नेपालीलाई अर्थ बारे अत्यन्तै कम ज्ञान देखिन्छ । घरमा खर्च हुने पैसा कहाँबाट आउँछ भन्नेबारे अठार उन्नाइस पुगेको कलेज पढ्ने छोरालाई समेत थाहा हुन्न, मलाई मोटरसाइकल चाहियो भन्छ । घरको आयव्यय नै हिसाब नगरी । छोराछोरी कि आमाले तिजै पिच्छे नयाँ सारी चाहियो भन्छिन् । उनलाई पनि पैसा कहाँ बाट आउँछ थाहा छैन । औँसी पूर्णे र चाडबाडमा आउने ज्वाइँ, भानिजलाई पनि धेरै दक्षिणा चाहिन्छ । तिनलाई पनि पैसाको श्रोत कहाँ छ थाहा हुन्न । दसैँमा टीका थाप्न आउने कसैलाई पनि पैसा कहाँबाट आउँछ थाहा हुन्न । थोरै दक्षिणा पाए घोसे मुन्टो लगाउँछन् ।

विदेश उच्च शिक्षा पढ्न जाने विद्यार्थीलाई पनि पैसा कहाँबाट आउँछ भन्ने थाहै छैन । बाउआमा बसेको घर धितो राखेर विदेश चल्दिन्छ । व्यवसाय गर्न चाहनेले पनि पैसाको श्रोत भेट्टाएको हुन्न । हिसाब किताब नगरी साथीभाइ सँग सयकडा मासिक तीन रुपैयाँ ब्याजमा ऋण काढेर वा बैङ्क बाट १५ /१७ ब्याजमा करोडौँको ऋण लिएर अन्धाधुन्ध व्यवसाय सुरु गर्छ ।  छिमेकीको अग्लो घर देखेर वा छोराछोरीको बिहेमा सम्पन्न टोपलिन आफूलाई आवश्यक नै नपर्ने गरी आफूलाई ठिक्क भएकै घर धितो राखी नचाहिने गरी तला थप्छन् । कुन आयले ऋण तिर्ने योजना नै हुँदैन । २५ हजार तिरेर काठमाडौँबाट कोरिया भन्दै विराटनगर पुग्ने, बिस लाख तिरेर जापान छिर्ने, तीस लाख तिरेर मेक्सिको हुँदै हिँडेर अमेरिका पुग्न चाहनेलाई झन् अर्थको बारेमा कत्तिको ज्ञान होला ?

कतै पसलमा गएर भोलि दिउँला नि भनेर किनमेल गर्ने देखि खाना खाएर हिँड्नेले पनि तिर्न चाहिने रकम बारे अनभिज्ञ हुन्छ । भोलि देखा जाएगा भनेर उधारोमा चल्ने नेपाली पनि प्रशस्तै भेटिन्छन् । यी सबै कुरा हामी वा हाम्रा आफन्त चिनेजानेका मित्रहरूले देखाउने चरित्र हुन् । हामी बहुसङ्ख्यकलाई पैसाको बारे यति थोरै ज्ञान छ कि, आफू स्वतन्त्र भएर बाँच्न पर्ने भए हामी धेरै सङ्घर्ष गर्न पर्ने हुन सक्छ । तसर्थ हाम्रो देशको नर्सरी स्कुल देखि हरेक तहका पाठ्यक्रममा अनावश्यक देशभक्ति, नेताभक्ती, पुरातनवादी संस्कार भन्दा अर्थ शास्त्रको सानै अंश राख्न सके हामी बढी व्यावहारिक बन्न सक्थ्यौँ कि भन्ने मेरो अनुमान रहेको छ । तपाईँ के भन्नु हुन्छ ?