एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।
समूह ‘डी’ मा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो । एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।
५९औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । ३–० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो ।
सोही जितसँगै कोलम्बिया एक खेल अगावै कोपाको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदैछ । क्वार्टर फाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुने छन् ।


















