काठमाडाैं । पार्टीबाट हालै कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका विभिन्न नेताहरूविरुद्ध अनेक आरोप लगाउने शृंखला अझै चलिरहेको छ।शनिबार पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि यसअघिका भन्दा संगीन आरोप लगाए।
सभापति लामिछानेले प्रधानमन्त्रीका लागि आफू भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेको र त्यसका लागि पहल गरिदिन आफूलाई अह्राएको ढकालले दाबी गरे। दोस्रोपटक गृहमन्त्री भएपछि रविले त्यसका लागि भारतीय राजदूतसँग एक होटेलमा पार्टीका नेताहरूसहित भेटेको उनको भनाइ छ।
पार्टीका उपसभापति वाग्लेले रविलाई प्रधानमन्त्री बनाउन नेपाललाई भारतको राज्य वा भारत संरक्षित देश भुटानजस्तो बनाउन सहमति गर्न आवश्यक रहेको भनेको दाबी ढकालले गरे। त्यसको कुनै प्रमाण भने उनले दिएनन्।'म लाइ डिटेक्सन टेस्ट दिन तयार छु । उहाँले भनेको हो। कुनै पनि प्रकारको छानबिनमा जानका लागि म तयार छु,' उनले भनेका छन्।
आफ्ना पूर्वमहामन्त्रीले आफूमाथि लगाएको संगीन आरोपको औपचारिक खण्डन लामिछाने र वाग्लेले गरिसकेका छैनन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले त्यसबारे प्रतिक्रिया जनाउँदै ढकालले नेताहरूमाथि लगाएको आरोप झुटो भएको बताए।


















