बुटवलः काठमाडौं महानगरपालिकापछि आज बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिकाका सुकुम्बासी बस्तीका घरटहरा हटाउन थालिएको छ ।

उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका छन् । बुटवल उपमहानगरपालिकाले वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु गरेको हो ।

सो सरकारी जग्गामा बनेका संरचना हटाउन २०७० सालमै सूचना जारी गरिए पनि बस्ती हटेको थिएन । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन थालिएको हो ।

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन अनुरोध गरेको थियो ।

त्यहाँ बनेका अधिकांश टहरामा चिया पसल र रेष्टुरेन्ट थिए ।

सरकारले आजै भक्तपुरको मनोहरा खोला किनारको सुकुम्बासी बस्ती पनि हटाउन शुरु गरेको छ ।

हिजो काठमाडौंको थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्बासी बस्ती हटाइएको थियो ।