सुन्दरहरैचा -मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ७ मालति टोलस्थित एक हृदयविदारक घटनामा आफ्नै दुई नाबालिका छोरीहरूको हत्या गरी फरार भएकी अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्तले छोरीहरूलाई विष सेवन गराएर हत्या गरेको आरोप छ।
घटना पछि फरार रहेकी अभियुक्तलाई प्रहरीले मिति २०८१ भदौ १९ गते बिहान ४:३० बजे झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि पक्राउ गरेको हो।
झापा जिल्लामा प्रहरीको सक्रियतामा अभियुक्तलाई नियन्त्रणमा लिएर मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको छ। हाल इलाका प्रहरी कार्यालय बेलबारीबाट घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
समाजमा यो घटनाले ठूलो तहल्का मच्चाएको छ, र यस विषयमा प्रहरीको थप अनुसन्धानपछि घटना कसरी घट्यो भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।


















