विराटचोकः सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेपछि यौन दुर्व्यवहारका प्रमाण सार्वजनिक गर्ने फेसबुक पेज S/K/N Confession & Meme ले अन्य शिक्षकले पनि विद्यार्थीसँग दुर्व्यवहार गरेको प्रमाण प्राप्त भएको जनाएको छ ।
तीन जना पक्राउ पछि सो पेजले लेखेको छ । ‘हामीसँग अझै सार्वजनिक गर्न बाँकी केही जानकारी र प्रमाणहरू छन् । अब यस विषयलाई कानुनी प्रक्रियामार्फत् अगाडि बढाउँदैछौँ । यस सम्बन्धमा गृहमन्त्री सुदन गुरुङसँग पनि प्रत्यक्ष सम्पर्क भएको छ, त्यसैले अब आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।
सम्पूर्ण पीडितहरूलाई अनुरोधः अब नडराउनुहोस् । यदि तपाईं हामीलाई पहिले नै सन्देश पठाइसक्नुभएको थियो भने, धेरै सन्देश आएका कारण तपाईंको च्याट धेरै तल गएको हुन सक्छ । त्यसैले कृपया हामीलाई फेरि एकपटक सन्देश पठाइदिनुहोस् ।
यदि तपाईंसँग कुनै प्रमाण, अनुभव वा जानकारी छ भने निर्धक्क भएर साझा गर्नुहोस् । तपाईंको गोपनीयताको सम्मान गरिनेछ ।
सम्पूर्ण विद्यार्थी, अभिभावक, सञ्चारमाध्यम तथा सरोकारवालाहरूमा अनुरोध छ पीडितको साथ दिनुहोस्, सत्य र न्यायको पक्षमा उभिनुहोस् ।’
यो स्टाटस राखेको तेस्रो मिनेटमा नै थप पीडित र पीडकबीचका स्क्रिनसट सो पेजले राख्दै यौन दुर्व्यवहारमा संलग्न तीन जनामात्रै नभएर अरु धेरै भएको उल्लेख छ ।


















