इटहरी ।संखुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिद–बिक्री सुरु भएको छ । गीत–संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ । 

एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक-फरक पर्दछ। मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निरासा आएको बताए । 

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो । डिजिटल गीत संगीतको कारण मादल नै सङ्कटमा पर्न थालेको छ। जसले गर्दा यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताए । पहिले पहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप हुँदै गएको बयलकोटीले बताए ।

विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै संख्या पनि कम हुँदै गएको छ । पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन् । ठूला–ठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेसा अँगालेका व्यक्तिको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ ।यता संखुवासभामा मादलकाे व्यापार घटिरहदा सुनसरीकाे धरानमा भने दुई गुणाले बढेकाे छ ।

 नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन् ।

विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।’

उनकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् । धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन् ।

 उनले भने, ‘आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन् ।’ तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए । उनले भने, ‘अरु समयमा महिनामा २÷४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र रु एक लाख बढीको बिक्री हुने गरेको छ ।’

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा रु तीन हजारदेखि रु आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । विगत नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आएका इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारील तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए । उनकाअनुसार विशेष गरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ ।