सुनसरी -‘नाम होस्, बदमान होस् तर गुमनाम नहोस’
नेपालमा चलनचल्तीको यो उक्ति यदि कसैमा सतप्रतिसत लागु भएको छ भने धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)मा लागु भएको छ । उनी कामले चर्चामा छन् । उनी कुराले चर्चामा छन् । उनी गाली गरेर चर्चामा छन् । उनी गाली खाएर चर्चामा छन् । चुनावमा कुदेर चर्चामा छन् । चन्दामा कुदेर चर्चामा छन् । आखिर चर्चामा छन् ।
हालसालै खोज पत्रकारिता केन्द्रले लेखेको एक खोजमुलक समाचारबाट बिच्केका हर्क फेरि चर्चामा आए । पत्रकारले लेखेको समाचारमा भएको आक्रेशको पत्रकार सम्मेलन भनिएको भेलामा उनले उपमेयर नेकपा (माओवादी केन्द्र)का नेता आइन्द्र बिक्रम बेघा बिरुद्ध पनि बोल्न भ्याइहाले । उनले बेलायत जाँदा किन कार्यवाहक नदिएको भन्दा सजिलै भने, ‘शुभयात्रा सम्म नभन्ने उपमेयरलाई दिन्छु त म?’
२०७९ को स्थनिय चुनावमा झण्डै आफू जत्तिकै मत ल्याएर उपमेयर बिजय भएका बेघालाई हर्कको डाइलग सुहाँउदो देखिन्न । हर्कले २०८२१ मत ल्याएर बिजय हुँदा बेघाले २०५१० मत ल्याएका थिए । उनीहरुको मतान्तर ३११ मात्रै छ । तर, अहिले हर्कले आफूले मात्रै जितेको जस्तो घमण्ड देखाइरहेका छन् । त्यहि घमण्डको सार थियो २०५१० मत ल्याएका दोस्रो वरियताका उमेयरलाई कार्यबाहक नदिएर १३९२ मत ल्याएका वडा नम्बर १३ का वडाध्यक्ष लोकेन्द्र कुमार फागुलाई दिए । दलहरुको विरोध गर्ने र नातावादको विरोध गर्ने हर्कले नेपाली कांग्रेसका नेता तथा नाताले फुपाजू ससुरा पर्नेलाई कार्यवाहक दिएर बेलायत उडेका थिए ।
उपनिर्वाचनमा हर्कः उनले साथ दिएका उमेद्वारको तारकातारहार
हर्कको उपनिर्वाचनबाट देखिएको सक्रियताबाट उनी चर्चामा आए । तर, हल्लाखल्लामा जस्तो मतपत्रमा उनको बलियोपना देखिएको छैन । उनले समर्थन गरेका सबै उमेद्वार हारे । त्यसका पछिल्ला किस्ता हुन कीर्तिपुर नगरपालिकाको चुनाव । उनले स्वतन्त्र उमेद्वार राजमान मानवले चुनाव जित्न त परै जाअोस् प्रमुख प्रतिस्पर्धामा पनि उपस्थिति देखाउन सकेनन् । २०३६ मत पाएर उनी चौंथो स्थानमा पुगे । मेयरमा निर्वाचित नेपाली कांग्रेसका उमेद्वार कृष्णमान ढंगोलले ५३३४ मत ल्याएका थिए ।
यस अगाडीको संघतर्फको उपचुनवामा हर्कले साथ दिएका उमेद्वार तेस्रो भएका छन् । इलाम क्षेत्र नम्बर २ को चुनावमा डकेन्द्र सिंह लिम्बुले ११४५७ मत ल्याएर तेस्रो भएका थिए । बिजेता एमालेका नेता सुहाङ लिम्बुले २७७७२ मत ल्याएका थिए ।
स्थानिय चुनावदेखि प्रतिनिधिसभा चुनावमा हर्कले सक्रिय साथ दिएका उमेद्वारहरुको तारकातार हारले हर्कको लोकप्रियता धेरैले सोचेको जस्तो नभएको मात्रै प्रष्ट भएको छैन । उनले आगामी चुनावहरुमा स्वतन्त्रहरुको संजाल बनाएर वा नयाँ दल खोलेर राज्य सत्तामा बलियो पहुँच बनाउने आधार पनि कमजोर भएको देखाएको छ ।
हर्कले पनि चुनाव हारेका छन्, उनको जित हुँदा उनको टीम हारेको थियो
हर्क सम्पाङले जितेको चुनावले उनले हारेको चुनाव छायामा पार्यो । २०७६ को धरानको उपनिर्वाचनमा हारेका थिए हर्क । उनले ४२२ मत मात्रै ल्याएका थिए । २०७९ को चुनावमा मात्रै उनको जित भएको हो । त्यो चुनावमा पनि हर्कको टीमको भने हार भएको थियो ।
हर्कले आफ्नो टीमबाट लौरो चुनाव चिन्हबाटै उपमेयरमा उठाएका दत्त लिम्बुले ४१२९ मत ल्याएर तेस्रो भए । यस्तै वडा नम्बर ७ को अध्यक्षमा हर्कले उठाएका अशोक शर्माले २५ मत्र मात्रै पाएर चुनाव हारे । चुनाव हारेका शर्मालाई हर्कले तथ्यांक सल्लाहकारको नाममा जागिर दिएर उपमहानगरपालिकामा सेटल गरिदिए । उक्त चुनावमा हर्कको टीमबाट उठेका अरु सबै वडा अध्यक्षका उमेद्वारहरु पनि हारेका थिए । उनीहरु तेस्रो वा त्यो भन्दा मुनिको मत ल्याएर पराजित भएका थिए । पछिल्लो स्थानिय चुनाव यता यसरी आफू मात्रै जित्दै आएका हर्कले आफ्ना टीमलाई पनि जिताउन सकेका छैनन् । आफूले समर्थन गरेकाहरुलाई पनि जिताउन सकेका छैनन् । जितका बिम्ब मात्रै होइनन् हर्क ।


















