विराटनगर - देशभरका एक हजारभन्दा बढी महिला कानुन व्यवसायी विराटनगरमा भेला भएका छन्। नेपाल बार एशोसिएसनको आयोजनामा ३१औं राष्ट्रिय महिला कानुन व्यवसायी सम्मेलन आजबाट सुरु भएको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्ला बार, उच्च बार र सर्वोच्च बारका महिला कानुन व्यवसायीहरूको सहभागिता रहेको छ। सम्मेलनले महिलाको समानुपातिक सहभागीता, पेशागत चुनौती र अवसर, लैङ्गिक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँच, पुनर्स्थापना, र निःशुल्क कानुनी सेवा जस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्नेछ।
नेपाल बार एशोसिएसनका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आजको पत्रकार सम्मेलनमा एशोसिएसनले सम्मेलनले महिलाको आर्थिक सशक्तीकरण, प्रजनन स्वास्थ्य अधिकार, सूचना प्रविधिमा पहुँच, र वातावरणीय परिवर्तनको प्रभाव जस्ता विषयमा पनि बहस हुने जानकारी दिएको छ।
सम्मेलनको मुख्य उद्देश्य कानुन व्यवसायी महिलाको पेशागत अवस्था सुधार गर्नुका साथै न्यायिक प्रक्रियामा महिलाको पहुँच र भूमिका प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएका छन्।सम्मेलन पुस १४ गतेसम्म चल्नेछ।


















