इटहरीः सुनसरी जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि प्रशासनले नियन्त्रणका उपायहरू कडाइका साथ अघि बढाएको जनाएको छ ।
सुनसरीका इटहरी, इनरुवा, दुहबी तथा गढी गाउँपालिकाका विभिन्न कुखुरापालन फार्महरूमा बर्ड फ्लु पुष्टि भएसँगै उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रलाई केन्द्र मानेर चार किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
सङ्कटग्रस्त क्षेत्रमा कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तुहरूको ओसारपसारमा बैशाख १४ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले जिल्लाभित्र र बाहिरबाट यस्ता वस्तु ल्याउन–लैजान समेत रोक लगाएको जनाएको छ ।
सुनसरीमा चैत ११ गते पहिलो पटक सङ्क्रमण पुष्टि भएपछि विभिन्न प्रभावित फार्महरूमा कुखुरा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । इटहरी–१९ स्थित एक फार्ममा मात्रै ११ हजारभन्दा बढी कुखुरा र अण्डा नष्ट गरिएको थियो ।
सोमबार रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा करिब १ लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि सबै नष्ट गरिएको जनाइएको छ ।


















