इटहरी । सुन्दरहरैंचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवनी अध्ययन गरिएर तयार पारिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । लेखक तथा अनुसन्धाता केशु विरहीले कृति लेख्नुभएको हो । विरही कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष हुनुहुन्छ

सो कृति बैशाख १८ गते शुक्रबार बिहान ११ बजे एक विशेष कार्यक्रमका साथ सुकुना बहुमुखी क्याम्पसको सभाहलमा लोकार्पण गरिने प्रकाशक संस्था कोसी साहित्य–कला परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ बताउनुहुन्छ । मोरङका दुई पालिकाका ऐतिहासिक तथा सामाजिक व्यक्तिका विषयमा तयार पारिएको सो कृतिको लोकार्पणमा पनि दुवै पालिकाका सामाजिक तथा सांस्कृतिक व्यक्तिहरूको उपस्थिति रहने प्रकाशकले जनाएको छ ।

पछिल्लो कृति ‘जीवनकथा अग्रजका’ ले मोरङको सुन्दरहरैंचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न विधाका ४६ जना व्यक्तिलाई बाहिर ल्याइएको छ ।

२०८२ सालमै प्रकाशित भए पनि नयाँ वर्ष २०८३ को अवसर पारेर मात्र लोकार्पण गर्न लागिएको कृतिमा अग्रजको सम्मान गर्दै उनीहरूमा भएको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहको लेखक विरही बताउनुहुन्छ ।

तेह्रथुमको आठराई गाउँपालिका –२, खाम्लालुङ (दोरप) मा जन्म भई पछिल्लो समय मोरङको बेलबारीलाई कर्मथलो बनाइरहेका विरही सञ्चारकर्मी पनि हुनुहुन्छ । विरहीका ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास सह लेखन) –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘सुस्केरा’ (सामुहिक सङ्कलन) –२०६२, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली (वंशावली) –२०६५, ‘सुलोचना’ (कथा सङ्ग्रह) –२०७१, ‘रेस्माको सेन्डल’ (बालकथा सङ्ग्रह) –२०७७ जस्ता विधा साहित्यका कृति बजारमा आइसेका छन् ।

पछिल्लो समय अनुसन्धानमा सक्रिय विरहीका ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) र ‘उपद्रष्टा हर्कमान तामाङ’ (२०८१) जस्ता अनुसन्धानमूलक कृति प्रकाशित भइसकेका छन् ।

आफूले जनस्तरकै सहयोगबाट अनुसन्धानका कार्य गरिरहेको र राज्यबाट अपेक्षाकृत रूपमा सहयोग पाउन नसकेको उहाँको भनाइ छ ।