इटहरीः १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । हिजो राति इटहरी रंगशालामा भएको फाइनल खेलमा बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो ।

खेलको ८७ औं मिनेटमा दोर्जे तामाङले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोलकर्ता तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए ।

उपाधिसँगै गछिया युवा समाजले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता प्लानिङ ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ पनि गछियाकै वर्चस्व देखिएको छ । गछियाका सुजन चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए । गछियाकै विशाल सुनार उत्कृष्ट गोलकिपर हुँदा सुजन डङ्गोल उत्कृष्ट फरवार्ड तथा अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार हात पारे ।

यता प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर तथा प्रतापसिंह राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताभर ६ गोल गरेका प्लानिङका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ताको उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार जिते ।

आयोजक राष्ट्रिय जागृति क्लबका युजन राई उदीयमान खेलाडी घोषित हुँदै ३२ इन्चको एलइडी टिभी हात पार्न सफल भए ।

प्लानिङ ब्वाइजले सेमीफाइनलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

गछियाले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई सेमीफाइनलमा र नाइजेरियन क्लब जस्टजोन एफसीलाई क्वाटर फाइनलमा पराजित गरेको थियो ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगितामा दुई विदेशी टोलीसहित ८ टिम सहभागी थिए ।