विराटनगर -विराट व्यापार संघ विराटनगरले मोरङका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवलाई स्वागत तथा सम्मान गरेको छ। बुधवारदेखि मोरङमा सिडियोको पदभार सम्हालेका यादवलाई बिहीबार संघका अध्यक्ष अंशु बन्जाराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमै पुगेर फूलमाला र खादा ओढाएर सम्मान गरिएको हो।

स्वागत कार्यक्रममा संघका अध्यक्ष बन्जारा, उपाध्यक्ष मनोहर कार्की, प्रविण अग्रवाल, सरस्वती ओझा, उपमहासचिव श्यामलाल पौडेल, कोषाध्यक्ष सोनु गुरुङ, प्रमुख कार्यकारी अधिकृत धरणिधर निरौला लगायतका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

इन्द्रदेव यादवले यसअघि रौतहट, सर्लाही, सुनसरी, इलाम र चितवनमा प्रमुख जिल्ला अधिकारीको रूपमा ५२ महिना सेवा गरिसकेका छन्। गृह मन्त्रालयका सहसचिव रहेका यादवले तीन महिना मन्त्रालयमा सेवा गरेपछि मोरङको प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेका हुन्।

यसअघि मोरङका सिडियो रहेका प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ। भट्टराईले २०८० पुस २ देखि २०८१ पुस २३ सम्मको कार्यकालमा कुशलतापूर्वक सेवा प्रदान गर्दै सेवाग्राहीहरूको प्रशंसा कमाएका थिए।

सिडियो यादवको आगमनसँगै मोरङ जिल्लाको प्रशासनिक सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रमले प्रशासन र स्थानीय व्यवसायिक समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।