उर्लाबारीः मोरङको रतुवामाईमा हिजो राति प्रहरीले हवाइ फायर गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । रतुवामाई नगरपालिका–१ हटियाडाँडामा राति करिब ८ः२० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले हवाइ फायर गरेको जनाइएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गरेपछि इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए ।

हवाई फायरपछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् ।

उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको । ४७५ ग्राम ८२० मिलिग्राम तौलको ब्राउन सुगरसहित पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।