काठमाडाैं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र घरेलु टोली उज्वेकिस्तान जित्नै पर्ने दबाबमा छन्। अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्नका लागि समूह एफ को विजेता बन्न आवश्यक छ।

समूह एफ बाट नेपालसँगै उज्वेकिस्तानले दाबेदारी प्रस्तुत गरिरहेका हो। समूह एफ बाट लाओस र श्रीलंका लगातार दोस्रो हार व्यहोर्दै एसियन कप छनोटको दौडबाट बाहिरिसकेका छन्। समूह चरणमा लगातार दोस्रो जित निकालेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्। 

समूह चरणको अन्तिम खेलमा शनिबार नेपाल र उज्वेकिस्तान भिड्दैछन्। यो खेलको विजेताले सिधै एसियन कपमा स्थान बनाउनेछ। त्यसैले नेपाली टोलीका लागि उज्वेकिस्तानविरुद्धको खेल वास्तविक परीक्षा हुनेछ। यी दुई टोलीबीच निर्धारित ९० मिनेटमा नतिजा नआएमा खेल सिधै टाइब्रेकरमा जानेछ। त्यसैले नेपाली टोलीले निर्धारित ९० मिनेटमा नै उज्वेकिस्तानलाई पछि पार्न जरुरी छ। 

समूह चरणको पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८-० ले पाखा लगाएको थियो। उता उज्वेकिस्तानले भने श्रीलंकालाई १०-० ले तथा लाओसलाई ७-० ले पराजित गरेको थियो।  उज्वेकिस्तानकी मुख्य प्रशिक्षक कोट्रिना कुल्बाइटले नेपालको पछिल्ला दुई खेललाई हेरेर महिला टोलीको बारेमा विश्लेषण गरेको बताएकी छिन्। 

नेपालसँगको खेलअघि उनले भनिन्, 'हामीले लाओससँग खेल्दा केही तयारी गरेका थियौँ। श्रीलंकासँगको खेल हेरेपछि हामीले हाम्रो खेल योजनालाई अन्तिम रुप दिन र नेपाललाई हराउनका लागि रणनितीका बारेमा समिक्षा गर्नेछौँ।' यता नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डेले उज्वेकिस्तानविरुद्ध अन्तिम समयसम्म पनि भिड्ने बताएका छन्।