इटहरी । हिजो राति भएको खेलमा अपराजित यात्रा गरिरहेको ओमानलाई हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाएको थियो ।

जीतसँगै नेपाल ४ खेलमा ८ अङ्क पाएर छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । समान खेल खेलेको ओमानले ६ अङ्क पाएको छ । नेपाल र ओमान दुवैले कतार र युइएलाई पराजित गरेका थिए ।

हिजो भएको खेलमा ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्सन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्सन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए ।

नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।

पराजित भए पनि ओमान पनि विश्वकपमा छनोट भएको छ ।