भरतपुर । चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधिबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका छन् ।
क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवम् वरिष्ठ युरोलोजिष्ट डा. निर्मल लामिछानेका अनुसार बरामीहरूका लागि रोबोटिक शल्यक्रिया निकै फाइदाजनक हुन्छ । विशेष गरी रोबोर्टिक सर्जरी प्रोस्टेटको क्यान्सरको उपचारमा बढी लाभदायक हुने बताइएको छ ।
मिर्गौलाको नली साँघुरो भएका एक बिरामीको रोबोर्टिक प्रविधिको सहायताबाट शल्यक्रिया गरिएको प्रत्यक्ष देखाइएको थियो । रोबोटको सहायताले शल्यक्रिया गर्दा १० गुणा राम्रो हुने र क्यान्सरका बिरामीका लागि यो प्रविधि अझ बढी प्रभावकारी हुने हुनाले यसलाई सुलभ बनाउन सके धेरैले लाभ लिन सक्ने बताइएको छ ।
कन्फ्रेसमा भरतपुर, काठमाडौं, विराटनगर, धरान, पोखराका विभिन्न अस्पतालका चिकित्सकसहित भारतको मेदान्त अस्पतालका जीआई सर्जन, यूरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिस्ट,जनरल सर्जन तथा रेजिडेन्टहरू र नर्सहरु सहभागी थिए ।
नेपालमा रोबोटिक सर्जरी भित्र्याउने चितवन मेडिकल कलेज दोस्रो अस्पताल हो ।
नेपालमा सर्जनहरुले आफैंले प्रत्यक्ष संलग्न भएर सर्जरी गर्ने गरेको भए पनि रोबोटको सहायताले गरेको सर्जरी उनीहरुकै लागि भने रूचिको विषय बनेको छ ।


















