इटहरी । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ ।यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डूविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमविरुद्ध सात विकेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।लुम्बिनीको जितमा ओपनर डीएर्सी शर्टले सर्वाधिक ५७ रन बनाए । ६६–३ को स्थितिबाट उनले चौथो विकेटका निम्ति निरोसान डिकवेलासँग ४६ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हालेका थिए ।
डिकवेलाले २२ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन थपे । सन्दीप जोराले १५ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गर्दै २४ रन बनाए । दिलीप नाथले १६ रन बनाए । ओपनर सुमित महर्जनले १० रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए ।विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई विकेट लिए । बसिर अहमेदको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो । विराटनगर किंग्सबाट पहिलो पटक मैदान उत्रिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले १२ रनमात्र बनाउन सके ।प्रतियोगितामा विराटनगरको भने यो दोस्रो हार हो । यो हारसँगै विराटनगरले भने लिग चरणको अन्तिम खेलअगावै प्लेअफ पुग्ने सम्भावना खेर फालेको छ । विराटनगरले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको, काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको र जनकपुर बोल्ट्सविरुद्ध नौ रनको जित निकालेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको विराटनगरले पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।


















