इनरुवाः प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । झापाबाट गैँडाको खाग लिएर आइरहेको भने आएको गोप्य सूचनाका अधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् । खागसहित बर्जु–६ स्थित बर्जुताल नजिकबाट उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट गैँडाको एउटा खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।

खाग तस्करीको सञ्जाल ठूलो भएको र अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको प्रहरीले बताएको छ ।