इटहरीः सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो

निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।

पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।