इटहरी । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनी श्रम संस्कृति पार्टीमा आबद्ध हुने अनुमान गरिएको छ ।
जेनजी आन्दोलनपछि करिब ५ महिना प्रलोपामा बिताएका किरातीले यो अवधिको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ मान्दै पार्टीका साथीहरू र नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यक्तिगत सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरेका छन् ।
पार्टी परित्याग गरे पनि उनी राजनीतिबाट भने टाढा नबसी ‘श्रम संस्कृति पार्टी’ मा आबद्ध हुने तयारीमा रहेको बताइएको छ । गत निर्वाचनमा उनले गृहजिल्ला भोजपुरमा प्रलोपाको उम्मेद्वार नउठाएर श्रम संस्कृति पार्टीलाई सहयोग गरेका थिए । अन्य केही क्षेत्रमा पनि उनले श्रम संस्कृतिलाई सघाएपछि प्रलोपाभित्र उनको चर्को आलोचना र विरोध भइरहेको थियो ।
फेसबुकमा उनले लेखेका छन्, “मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा म निरन्तर अघि बढ्नेछु ।”


















