इटहरी ।  सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई कानुन बमोजिमको छुट उपलब्ध गराउन कडा विभागले पत्राचार गरेको हो ।

पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुव्र्यवहार गरेको भन्दै धेरै गुनासाहरू दर्ता भएका थिए । यसै सन्दर्भमा विभागका निर्देशक गणेशमान सिंह राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘विगतका निर्णयहरू अनुसार विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनु व्यवसायीको दायित्व हो । सार्वजनिक यातायातका साधनहरूमा यो सहुलियत उपलब्ध नगराइएको गुनासो आएकाले यसलाई तत्काल कार्यान्वयन गर्न निर्देशानुसार अनुरोध गरिन्छ ।’

विभागले सबै यातायात श्रमिक र व्यवसायीलाई विद्यार्थी परिचयपत्रका आधारमा तोकिएको छुट दिन र विद्यार्थीहरूसँग मर्यादित व्यवहार गर्न समेत आग्रह गरेको छ ।

२०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ ।