इटहरी । आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
गुरुङले आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिँदै पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ’, गुरुङले लेखेका छन्, ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फिलिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’
आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले सञ्चारकर्मी, आम नेपाली र युवाहरू, साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डलका सदस्यमध्ये गुरुङसहित २ जना बाहिरिएका छन् ।
यसअघि श्रममन्त्री दीपक साहलाई मन्त्री भएको दुई साता नबित्दै प्रधानमन्त्रीले पदमुक्त गरेका थिए । साहलाई पदमुक्त गरेको दुई साता नबित्दै गृहमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।


















