धरानः पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको अनुगमनका लागि धरान आएका शिक्षा मन्त्री सस्मित पोख्रेलसँग क्याम्पसको जीर्ण संरचना मर्मत, आधुनिक ल्याब, विद्यार्थी सुविधा विस्तारको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट माग गरिएको छ ।

मन्त्री पोखरेलले वित्तीय प्रतिवेदन हेरेर विश्वविद्यालयसँग कुरा गर्ने जवाफ दिएका छन् । क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

४ दशकभन्दा पुराना भवनमा २०४५ सालदेखि रङरोगन नगरिएको, क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्न कम्तीमा ३ वटा फिल्टर प्लान्ट आवश्यक रहेको, हाल सञ्चालनमा रहेको महिला छात्रावासमा एक तला थप्नेलगायतका योजना क्याम्पस प्रमुख कार्कीले मन्त्री पोखरेलसमक्ष माग गरेका थिए ।