इटहरी । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको तथा राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।


















