काठमाडौंः ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । सर्वत्र आलोचना र विरोध भएपछि सांसद पोखरेल विवादित बनेका छन् ।

पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ ।

पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपाका सांसद गणेश कार्कीले जितेको दुई महिना नहुँदै जनताले थर्काउने र आफूलाई माननीय भन्नुपर्ने पोखरेलको अभिव्यक्ति र व्यवहारप्रति दुःख व्यक्त गरेका छन् ।