इटहरी ।  जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यसका कारण मध्यम स्तरको तातो लहरको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले प्रकाशन गरेको बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई ‘सतर्क रहनुपर्ने’ श्रेणीमा राखिएको छ ।

डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी जिल्लालाई अध्यावधिक रहनु्पर्ने श्रेणीमा समावेश गरिएको छ ।

अधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले दिउँसो अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र संवेदनशील समूह (बालबालिका, वृद्ध तथा बिरामी) लाई विशेष ध्यान दिन आग्रह गरेको छ । मौसम प्रतिकूल हुने क्षेत्रका स्थानीय तह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन समेत सुझाव दिइएको छ ।

आइतबारदेखि मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुने र तुवाँलो तथा वायु प्रदूषणमा केही सुधार हुने अपेक्षा विभागले गरेको छ ।

आज शनिबारसम्म कोशी प्रदेशको थोरै ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आइतबारदेखि मंगलबारभित्र कोशी, मधेस, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने विभागको अनुमान छ ।