इटहरी । मात्रै ५ मतान्तरले ओखलढुङ्गाबाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागत गर्न नआएको भनी दिएको धम्कीपूर्ण अभिव्यक्तिको सर्वत्र विरोध र आलोचना भएको छ ।

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’

पूर्वशिक्षामन्त्री महावीर पुनले प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

पोखरेलको नाम नलिइकन पुनले भनेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्छ,’ पूर्वमन्त्री एवं म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नुपर्याे कि त सारा जनताले फिर्ता बोलाउनुपर्याे । सांसद पदको बेइज्जत नै गर्याे त ।’

रास्वपा केन्द्रीय सदस्य एवं मोरङ–३ बाट निर्वाचित सांसद गणेश कार्कीले पोखरेललाई लक्षित गर्दैै कार्की सामाजिक सञ्जालमा लेख्छन्, ‘यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुईं नछोडौँ न है ।’

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल सामाजिक सञ्जालमा लेख्छन्, ‘आफू आउँदा स्वागतार्थ स्कुल गेटमा लामबद्ध नभएकोमा प्रधानाध्यापक पद र व्यक्तिको सार्वजनिक अपमान गर्नेलाई ‘माननीय’ मान्नु कि धिक्कार्नु ?’

रास्वपाको स्थापनकालदेखि पार्टी कार्यमा सक्रिय स्वस्तिका लामिछानेले मतदातालाई थर्काएको भन्दै पोखरेलको व्यवहारप्रति आपत्ति जनाएकी छिन् ।

‘माननीयज्यूले बोल्न सिक्नु पर्ने रहेछ । बरु, बोल्न सिक्ने कक्षा शुरु गर्नुस् । हामी सिकाइदिउँला जनतासँग कसरी बोल्ने भनेर । ४ वर्षको अनुभव छ हामीसँग,’ नेतृ लामिछाने लेख्छिन्,‘फौजीमा आफूभन्दा सानालाइ थर्काएजसरी आफ्ना मतदाता थर्काउन पाइँदैन हेक्का रहोस् । तपाईंलाई माननीय बनाउन हाम्रो मेहेनत कति छ भन्ने तपाईंलाई थाहा छैन होला । ४ वर्ष देखि गरेको हाम्रो दुः खको कदर गर्दिनुहोला । माननीय भएँ भन्दैमा मैमत्ता हुने काम बन्द गरियोस् । कसले बनायो माननीय यिनै जनताले होइन ? माथि उचाल्न सक्नेले भुईंमा पछार्न नि सक्छ्न हेक्का रहोस् ।’

सामाजिक सञ्जालभरी पोखरेलको अभिव्यक्तिलाई लिएर आलोचना भएको छ ।