इटहरी । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ देशका चार प्रदेशका विभिन्न १० जिल्ला र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ती जिल्लामा हावाहुरीको जोखिम उच्च रहेको जनाएको हो ।
प्राधिकरणका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ तथा अर्घाखाँची र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र बैतडी आसपासका क्षेत्रमा विशेष प्रभाव पर्ने अनुमान गरिएको छ ।
आज साँझ करिब ५ः४५ बजेदेखि सुरु भई भोलि बिहीबार बिहान ८ः४५ बजेसम्म हावाहुरीको प्रभाव रहने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने अनुमान गरिएको छ ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ । हावाहुरी चल्ने सम्भावना रहेका जिल्लामा बसोबास गर्ने तथा सो अवधिमा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले नागरिकलाई ७ बुँदे सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्ता छन् ७ बुँदे सावधानीका उपाय
१. हावाहुरीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन,
२. झ्याल–ढोका मजबुत बनाई बन्द गर्न,
३. कमजोर संरचना सुरक्षित बनाउन तथा आगलागीजन्य गतिविधिमा सचेत रहन
४. अग्ला र कमजोर संरचना तथा रुखमुनि नबस्न,
५. बिजुलीका तारबाट टाढा रहन,
६. तार लत्रिएको अवस्थामा नछुन,
७. हुरीले उडाएर ल्याएका वस्तुबाट चोट लाग्न सक्ने हुनाले जोगिन ।


















