विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको भनी आफ्नो दलको सरकारको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले संविधानको मर्म पालना नगरी अक्षरमा आधारित अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन् ।

झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।

‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

यस्तो छ कार्कीले लेखेको स्टाटस जस्ताको तस्तैः
सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ ।

रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् ।

र, विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन् ।