इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी शुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । आज जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजे हावाहुरी शुरु हुने छ । हिजो प्रकाशित बुलेटिनमा हावाहुरी पौने ६ बजे शुरु हुने उल्लेख थियो ।
हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।
लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।
गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ ।
मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्ला तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
पश्चिम नेपालबाट ४ बजे नेपाल प्रवेश गर्ने हावाहुरी भोलि बिहान पौने ७ बजे झापाबाट अन्त्य हुने जनाइएको छ ।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ ।
देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।
विभागको अनुरोधपछि धेरै स्थानीय तहले पनि हावाहुरी आउने सम्भावना रहेको भनी पालिकावासीलाई सतर्क रहन अनुरोध गरी सूचना जारी गरेका छन् ।


















