काठमाडौंः सरकारले सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको छ । सो अध्यादेश आउनुअघि नै नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् ।
आज बिहान बैठक बसी त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका हुन् ।
उनीहरुले कर्मचारीमार्फत् राजीनामा पठाएको बताइएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारको ह्वाट्सअपमा पनि सो राजीनामा पत्र पठाइएको बताइएको छ ।
उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।
शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।
दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिई मार्गप्रशस्त गर्न भनेको थियो । तर त्यसरी नियुक्ति लिएकाले राजीनामा नदिएपछि अध्यादेश नै ल्याएर सरकारले राजनीतिक नियुक्ति लिएका सबैलाई एकसाथ हटाउन लागेपछि त्रिवि पदाधिकारीले राजीनामा दिएका हुन् ।


















