काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यी अध्यादेशहरू जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसँग सम्बन्धित ऐनहरू रहेका छन् ।
जारी भएका अध्यादेशहरूः
१. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
२. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
३. विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
यी तीनै अध्यादेश २०८३ साल वैशाख १९ गते शनिबारकै मितिमा जारी भएका हुन् । राष्ट्रपति पौडेलले यसअघि नै सहकारी र खरिद प्रक्रियासँग सम्बन्धित अध्यादेशहरू जारी गर्नुभएको छ ।
अध्यादेश जारी भएपछि अब सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने प्रक्रियामा पनि नयाँ कानुनी व्यवस्था हुने भएको छ । स्वास्थ्य संस्था र विश्वविद्यालयका केही प्रावधानहरू तत्कालै लागू हुने बाटो खुलेको छ ।
















