इटहरी । आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३ मा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।
मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंँल्याउन सकिन्छ । आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ ।
विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धताको स्मरण गराउने अवसर पनि हो– विश्व प्रेस स्वतन्त्रता दिवस । सञ्चार माध्यमसँग आबद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ । समाचार, लेख तथा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ ।
















