इटहरी - सुनसरीको इटहरी–३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय मा अध्ययनरत छात्रा निमिक्षा आचार्यले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत ४ जीपीए प्राप्त गर्न सफल भएकी छन् ।
विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ७० जना विद्यार्थीमध्ये ६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सीमित स्रोतसाधनका बाबजुद विद्यालयले गुणस्तरीय तथा परिणाममुखी शिक्षालाई निरन्तर प्राथमिकतामा राख्दै आएको उनले बताए ।

कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको विद्यालयले पढाइसँगै अनुशासन, नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको जनाएको छ ।
उत्कृष्ट नतिजापछि विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता जनाएको छ ।














