वसन्तपुरः तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज र भोलि बाँदर धपाउने कार्यक्रम राखेर नगरले आज सार्वजनिक बिदा दिएर सबैलाई बाँदर धपाउने कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।

एक्लाएक्लै आ–आफ्नो बालीनाली जोगाउने प्रयास विफल भएपछि आज र भोलि नगरभरका बासिन्दा मिलेर सामुहिक रुपमा बाँदर खेदाएर नगरको सिमाना कटाइने पालिकाले जनाएको छ । नगरले आज शुक्रबार अत्यावश्यक बाहेकका सेवा बन्द गरेर सामुहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्ने भएको हो ।

बाँदरले मकै र अलैँची बालीमा धेरै क्षति पुर्याउने गरेको स्थानीय बताउँछन् । माथिल्ला तहका सरकारले बाँदर नियन्त्रणमा ध्यान नदिएकाले बाँदर धपाउने कार्यक्रमले संघीय र प्रदेश सरकारको ध्यानाकर्षण पनि गराउने अपेक्षा गरिएको नगर प्रमुख अर्जुन माबोहाङ बताउनुहुन्छ ।

बैशाख २९ गते सूचना जारी गरी नगरले बाँदर लखेट्ने अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैलाई सहभागी हुन आह्वान गरेको छ । गाउँका विभिन्न डाँडाकाँडा, जंगलको छेउ र बारी आसपास मानिसहरू जम्मा भएर सामुहिक रूपमा बाँदर धपाउने योजना बनाइएको बताइएको छ ।

लालीगुराँस नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमै ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ शीर्षकमा बजेट नै विनियोजन गरी वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सियापा पुछार क्षेत्रमा बाँदर हेर्न र धपाउन ‘बाँदर हेरालु’ को व्यवस्था गरेको छ ।