लेटाङः इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साह २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । साहलाई कोशी प्रदेश प्रहरी कार्यालयले बैशाख महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी निरीक्षक साहले विभागीय मूल्य मान्यता, आदेशनिर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गर्नुका साथै फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मितिमा फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउनुका साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाहका लागि ड्रोन क्यामेरामार्फत् अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको जनाइएको छ ।
नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखा निर्माण गर्ने तथा हिरासत कक्षमा पुस्तकालय स्थापना गरी नवप्रवर्तनात्मक कार्यलाई बढावा दिएको भन्दै उहाँको कार्यको उच्च मूल्याङ्कन गरिएको जनाइएको छ । प्रहरी र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले साहलाई बैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको जनाइएको छ ।


















