इटहरी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।
सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्लुएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बीबीसीका अनुसार हालसम्म करिब २४६ जनामा संक्रमण भएको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ ।
डब्लुएचओले यो अवस्था अझै विश्वव्यापी महामारीको मापदण्डमा नपुगेको स्पष्ट पारेको छ । संगठनका अधिकारीहरूले प्रकोप गम्भीर भए पनि नियन्त्रणबाहिर नपुगेको बताएका छन् । संक्रमित व्यक्तिको वास्तविक संख्या अझै स्पष्ट नभएको र रोग फैलिएको भौगोलिक क्षेत्र अपेक्षाभन्दा ठूलो हुन सक्ने बताइएको छ ।
दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य सेवा र सीमित परीक्षण क्षमताका कारण वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको बताइएको छ । यो प्रकोप ‘बुन्डिबुग्यो भाइरस’ नामक इबोलाको दुर्लभ प्रकारका कारण फैलिएको बताइएको छ । डब्लुएचओका अनुसार, यस प्रकारको भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन ।
कंगोसँग सीमा जोडिएका अन्य अफ्रिकी राष्ट्रहरूमा समेत संक्रमण फैलिन सक्ने जोखिम उच्च रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । डब्लुएचओले कंगो र युगान्डा दुवैलाई संक्रमण निगरानी, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी (‘कन्ट्याक्ट ट्रेसिङ’) तथा रोकथामका उपाय तीव्र बनाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ ।
कंगोमा इबोलाको यो १७ औँ प्रकोप भएको बताइएको छ ।


















