इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ ।

जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा उहाँको जोड थियो । जनप्रतिनिधितर्फ लक्षित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरूलाई साकार बनाउन स्थानीय तहहरू सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताउँदै शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित, संविधान र शासन प्रणालीले राखेको मूल उद्देश्य पूरा हुने बताउनुभयो ।

स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु र विकास निर्माणका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो ।

सुनसरीका वराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा जस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरूको भ्रमणबाट आफूलाई मनोरम अनुभूति भएको बताउँदै राष्ट्रपति पौडेलले ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो ।

विगतको स्मरण गर्दै राष्ट्रपति पौडेलले वि.सं. २०६५ सालमा कोशी बाँध फुट्दा विस्थापित भएको बस्ती अहिले पुनः स्थापित भई विकासका गतिविधिहरू तीव्र रूपमा अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो ।