इटहरी । हिजो काठमाडौंमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपाल ३–२ ले पराजित भएको हो ।

जीतसँगै भारतले २ अङ्क हात पारेको छ । नेपालको भागमा १ अङ्क परेको छ । भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो ।

नेपालको राष्ट्रिय टोलीमा एकै पटक पाँच खेलाडीले डेब्यु गरेका छन् । लिबेरो सुनिता खत्री, मिडल ब्लकर मीना सुनार, सेटर जस्मा महतो, सलिना बुढा मगर र वसन्ती साउदले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् ।

कप्तान निरुता ठगुन्नाको नेतृत्वमा उत्रिएको युवा नेपाली टोलीले खेलभर अनुशासन, ऊर्जा र संघर्ष देखाए पनि निर्णायक क्षणमा अनुभवको कमी देखिएको खेल विश्लेषक बताउँछन् ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आज किर्गिस्तानसँग साँझ ५ बजे खेल्नेछ । समूहमा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यहाँबाट शीर्ष दुई टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।